फिफा विश्वकप २०२६: समूह चरणको अन्तिम भिडन्त सुरु, नकआउट समीकरणका लागि ‘गर या मर’ को अवस्था

 

न्युयोर्क/मेक्सिको सिटी  । उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा जारी फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा प्रवेश गरेको छ। समूह चरणका सुरुवाती ४८ खेलहरू सम्पन्न भएसँगै अब अन्तिम चरणका खेलहरू सुरु हुँदैछन्, जसले अन्तिम ३२ (राउन्ड अफ ३२) को समीकरण पूरा गर्नेछ।

यस पटकको नयाँ फर्म्याट अनुसार १२ वटा समूहका शीर्ष दुई टोलीहरू र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्। समूह चरणको अन्तिम खेलबाट १६ टोलीहरू घर फर्किनेछन्।

आगामी जुन २४ देखि २७ सम्म हुने खेलहरूमध्ये विश्वभरका फुटबल प्रेमीहरूका लागि ‘हेर्नैपर्ने’ पाँच प्रमुख खेलहरू यस प्रकार छन्:

१. स्कटल्यान्ड विरुद्ध ब्राजिल (बुधबार):
मियामी रंगशालामा हुने यो खेल निकै प्रतीक्षित छ। ब्राजिल र स्कटल्यान्ड विश्वकपमा पाँचौँ पटक आमनेसामने हुँदैछन्। ब्राजिल समूह ‘सी’ को विजेता बन्दै नकआउटमा पुग्न चाहन्छ भने स्कटल्यान्ड पहिलो पटक विश्वकपको समूह चरण पार गर्ने दाउमा छ। यस खेलको अर्को मुख्य आकर्षण स्टार खेलाडी नेयमार हुन्, जो यस विश्वकपमा पहिलो पटक मैदान उत्रिँदै छन्।

२. जापान विरुद्ध स्विडेन (बिहीबार):
डालस रंगशालामा हुने यो खेल समूह ‘एफ’ को शीर्ष दुई स्थानका लागि निर्णायक हुनेछ। ट्युनिसियालाई ४-० ले हराएर उच्च मनोबलमा रहेको जापान र उतारचढावपूर्ण प्रदर्शन गरिरहेको स्विडेनबीचको यो भिडन्त निकै आक्रामक हुने अनुमान गरिएको छ।

३. नर्वे विरुद्ध फ्रान्स (शुक्रबार):
बोस्टनमा हुने यो खेललाई ‘ब्लकबस्टर’ भिडन्त मानिएको छ। दुवै टोली नकआउटमा पुगिसकेका भए पनि समूह विजेता बन्नका लागि भिड्नेछन्। विशेष गरी विश्व फुटबलका दुई युवा स्टार अर्लिङ हालाण्ड र किलियन एमबाप्पेबीचको गोलको प्रतिस्पर्धा रोचक हुनेछ। दुवैले अहिलेसम्म समान ४-४ गोल गरिसकेका छन्।

४. उरुग्वे विरुद्ध स्पेन (शुक्रबार):
समूह ‘एच’ मा अप्रत्याशित नतिजाहरू आएका कारण यो समूहको समीकरण रोचक बनेको छ। स्पेन समूहको शीर्ष स्थानमा छ भने उरुग्वे दुई अंकले पछि छ। अर्जेन्टिनासँगको सम्भावित भेट टार्नका लागि पनि स्पेन यो खेल जितेर समूह विजेता बन्न चाहन्छ।

५. इजिप्ट विरुद्ध इरान (शुक्रबार):
सिएटलमा हुने यो खेल दुवै देशका लागि ऐतिहासिक छ। अहिलेसम्म यी दुवै टोली विश्वकपको समूह चरणबाट माथि उठ्न सकेका छैनन्। यस पटक जसले जित्छ, उसले इतिहास रच्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ।

खेल तालिका 

जुन २४, बुधबार:

  • स्विजरल्याण्ड विरुद्ध क्यानडा

  • बोस्निया विरुद्ध कतार

  • स्कटल्यान्ड विरुद्ध ब्राजिल

  • मोरक्को विरुद्ध हाइटी

  • चेकिया विरुद्ध मेक्सिको

  • दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया

जुन २५, बिहीबार:

  • इक्वेडर विरुद्ध जर्मनी

  • कुरासाओ विरुद्ध आइभोरी कोस्ट

  • जापान विरुद्ध स्विडेन

  • ट्युनिसिया विरुद्ध नेदरल्यान्ड्स

  • टर्किए विरुद्ध अमेरिका

  • पाराग्वे विरुद्ध अष्ट्रेलिया

जुन २६, शुक्रबार:

  • नर्वे विरुद्ध फ्रान्स

  • सेनेगल विरुद्ध इराक

  • केप भर्डे विरुद्ध साउदी अरब

  • उरुग्वे विरुद्ध स्पेन

  • इजिप्ट विरुद्ध इरान

  • न्यूजील्याण्ड विरुद्ध बेल्जियम

जुन २७, शनिबार:

  • पानामा विरुद्ध इङ्गल्याण्ड

  • क्रोएसिया विरुद्ध घाना

  • कोलम्बिया विरुद्ध पोर्चुगल

  • डिआर कंगो विरुद्ध उज्वेकिस्तान

  • अल्जेरिया विरुद्ध अस्ट्रिया

  • जोर्डन विरुद्ध अर्जेन्टिना

अन्तिम चरणका यी खेलहरूले विश्वकप २०२६ को बाँकी यात्रा तय गर्नेछन्, जहाँ साना टोलीहरूले ठूला राष्ट्रहरूलाई स्तब्ध पार्ने सम्भावना पनि उत्तिकै रहेको विश्लेषण गरिएको छ।