बेनी–जोमसोम सडकको महभिरमा पहिरोले गाडी पुरियो: चालकको अचेत अवस्थामा उद्धार, सडक पूर्ण रूपमा अवरुद्ध

म्याग्दी, १० असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार राति गुडिरहेको एउटा गाडी पहिरोमा पुरिएको छ । पहिरोमा पुरिएका चालकलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेको छ ।

बुधबार राति करिब ८ बजेतिर भिरबाट खसेको पहिरोले गुडिरहेको गाडीलाई पुरेको थियो । घटनाको जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४० जनाको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी कार्कीका अनुसार पहिरोभित्र गाडी नराम्ररी च्यापिएकाले त्यसको नम्बर प्लेट र चालकको पहिचान खुल्न सकेको छैन । “गाडीको चालक सिटमा रहेका व्यक्तिलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेका छौँ,” उहाँले भन्नुभयो, “उहाँलाई तत्काल उपचारका लागि बेनी अस्पताल पठाइएको छ ।”

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बेनीदेखि करिब १८ किलोमिटर उत्तरमा पर्ने महभिरमा अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सुचारु गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले गाडीभित्र अन्य मानिस भए नभएको बारे थप खोजी र अनुसन्धान गरिरहेका छन् ।