स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः स्वास्थ्यमन्त्री पौडेल
चितवन, २२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूलाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको स्पष्ट पार्नुभएको छ। स्वास्थ्य बिमा बोर्डबाट दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै कतिपय सरकारी अस्पतालले सेवा रोक्ने चेतावनी दिइरहेको सन्दर्भमा मन्त्री पौडेलको यस्तो भनाइ आएको हो।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने कुनै पनि अस्पतालको दर्ता नवीकरण नगरिने कडा चेतावनी दिनुभयो। “बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन। यदि कसैले बिमा कार्यक्रम रोकेको पाइएमा दर्ता नवीकरण हुँदैन,” मन्त्री पौडेलले भन्नुभयो।
उहाँले बिमा बापतको बाँकी भुक्तानी बिमा बोर्डले छिट्टै फर्स्योट गर्ने पनि आश्वस्त पार्नुभयो। “हिजो (बिहीबार) मात्रै रु. चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम पनि यही चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा हामी लागेका छौँ,” उहाँले जानकारी दिनुभयो।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पौडेलले विभिन्न निकायमार्फत प्रदान भइरहेका स्वास्थ्य सुविधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, तथा नेपाली सेना र नेपाल प्रहरीका कल्याणकारी कोषहरूले सञ्चालन गर्दै आएका बिमा कार्यक्रमलाई एउटै प्रणालीमा ल्याउन आवश्यक रहेको बताउनुभयो।
स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा बजेट प्रमुख चुनौती रहेको स्वीकार्दै उहाँले यसको दिगो व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभयो।