सेयर बजार ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं, २२ वैशाख । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ।
नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ अंकमा झरेको छ। आइतबार नेप्से २६२० अंकमा बन्द भएको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि संकुचन आएको छ। आइतबार ९ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार यो रकम घटेर ७ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसक्दा लगानीकर्ताहरूले ‘पर्ख र हेर’ को रणनीति अपनाएको देखिन्छ, जसको संकेत नेप्से परिसूचक र कारोबार रकम दुवैमा आएको गिरावटले गरेको छ।
सोमबार नेप्सेका अधिकांश उपसूचकहरूमा सामान्य मात्रै उतारचढाव देखियो। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ। यस्तै, फाइनान्स र उत्पादनमूलक समूहका उपसूचकहरू पनि करिब १ प्रतिशतले घटेका छन्।
लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा गरी जम्मा तीन समूहका उपसूचकमा भने सामान्य वृद्धि देखिएको छ।
आज नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा (करिब १० प्रतिशतले) बढेको छ।