भेनेजुएला भूकम्पमा मृत्यु हुनेकाे सङ्ख्या ५,००० नाघ्यो
एजेन्सी, ३ साउन । भेनेजुएलामा गत जुन महिनामा गएको शृङ्खलाबद्ध विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५,००० नाघेको छ। महाविपत्तिपछिको मानवीय सङ्कट सम्बोधन र भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले ३४ करोड ६० लाख अमेरिकी डलर (करिब ४६ अर्ब नेपाली रुपैयाँ) वित्तीय सहायता उपलब्ध गराएको छ।
गत जुन २४ मा एक मिनेटको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएकाे थियो। राजधानी काराकासको उत्तरमा अवस्थित तटीय राज्य ‘ला गुआइरा’ यस विपद्को केन्द्रविन्दु र सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ।
नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार, हालसम्म पुष्टि भएका मृतकको सङ्ख्या ५,०६९ पुगेको छ। यस्तै, भूकम्पमा परी १६,७४० जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका भए पनि गम्भीर घाइतेहरूको उपचार अझै जारी रहेको छ।
भूकम्पका कारण करिब २०,००० नागरिक घरबारविहीन भएका छन्। विस्थापितहरूलाई हाल विभिन्न अस्थायी शिविरहरूमा राखिएको छ। यद्यपि, ती शिविरहरूमा खानेपानी, पर्याप्त ढल निकास र सरसफाइको अभाव हुँदा सरुवा रोगको जोखिम बढेको भन्दै स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आइएमएफबाट प्राप्त सहायताले आपत्कालीन पुनर्निर्माणमा ठुलो राहत पुग्ने बताउनुभयो। आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम भेनेजुएलाको आफ्नै सञ्चित स्रोत ‘रिजर्भ ट्राञ्च’बाट परिचालन गरिएको पुष्टि गर्नुभयो।
रोचक पक्ष के छ भने, भेनेजुएलासँग आइएमएफमा ५ अर्ब १० करोड डलर बराबरको ‘विशेष आहरण अधिकार’ मौज्दात रहे पनि निकोलस मादुरो नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय मान्यता नदिइएका कारण यो कोष विगतमा फ्रिज गरिएको थियो। गत जनवरीमा मादुरो सत्ताच्युत भएपछि र अप्रिलमा नयाँ अन्तरिम सरकारसँग सम्बन्ध पुनः स्थापित भएपछि मात्र यो वित्तीय ढोका खुलेको हो।