मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ, सिरहामा उत्साहजनक र महोत्तरीमा न्यून प्रगति

जनकपुरधाम, २ साउन । नेपालको ‘अन्न भण्डार’ मानिने मधेस प्रदेशमा मनसुनको ढिलाइका बाबजुद असार मसान्तसम्म करिब ५८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालय, धनुषाका अनुसार चालू सिजनका लागि लक्ष्य निर्धारण गरिएको कुल क्षेत्रफलमध्ये ५७ दशमलव ९३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो।

निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार प्रदेशका आठ जिल्लामध्ये रोपाइँको गतिमा ठुलो असमानता देखिएको छ। सिँचाइको उपलब्धता र स्थानीय वर्षाको प्रभावका आधारमा जिल्लागत प्रगति विवरण निम्न बमोजिम छ।
सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमध्ये ८० प्रतिशत अर्थात् ४३ हजार २०० हेक्टरमा रोपाइँ सम्पन्न गरी सिरहा प्रदेशमै पहिलो स्थानमा रहेको छ। भने पर्सामा ६५ प्रतिशत, सर्लाहीमा ६० प्रतिशत र रौतहट तथा बारामा ५५ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ।

४० हजार हेक्टर क्षेत्रफल रहेको महोत्तरीमा सबैभन्दा कम ३९ दशमलव ५९ प्रतिशत (१५ हजार ८३८ हेक्टर) मा मात्र रोपाइँ भएको छ। यस्तै, सप्तरी र धनुषामा करिब ५० प्रतिशत प्रगति देखिएको छ।

कृषि प्राविधिकहरूका अनुसार धान उत्पादनको चक्रमा ‘असार’ महिनाको रोपाइँलाई प्राविधिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ। असारभित्र रोपाइँ सकिँदा बाला लाग्ने समयमा पर्याप्त चिस्यान र तापक्रम मिल्ने भएकाले उत्पादनमा सकारात्मक प्रभाव पर्ने विज्ञहरूको विश्लेषण छ। अहिले प्रदेशभरि पर्याप्त वर्षा भइरहेकाले बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *