म्यान्चेस्टर सिटी तेस्रो स्थानमा

म्यान्चेस्टर, ७ जेठ । म्यान्चेस्टर सिटीले बोर्नेमाउथलाई ३–१ ले हराएर इङगलिस प्रिमियर लिगको तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । यस नतिजासँगै सिटी अर्को सत्रमा हुने च्याम्पियन्स लिगको सङघारमा पुगेको छ । अब प्रिमियर लिगमा एक चरणमात्र बाँकी छ ।

घरेलु मैदानमा भएको सो खेल म्यान्चेस्टर सटीका मिडफिल्डर केभिन डि बु्रयनको विदाइ खेल पनि थियो । यद्यपि ओमार मारमाउसले लामो दुरीबाट गरेको दर्शनीय गोलले डि बु्रयनको विदाइलाई छायाँमा पार्यो । खेलको १४ औँ मिनेटमा मारमाउसले ३० गजबाट बल सीधै गोलपोस्टमा छिराएर गरेको गोलले म्यान्चेस्टर सिटी अगाडि भएको थियो । डि बु्रयनसमक्ष पनि विदाइ खेलमा गोल गर्ने अवसर थियो । तर उनले खाली गोलपोस्टमा पनि बल छिराउन सकेनन् । डि बु्रयनले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो ।

खेलको ३८ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरी सिटीको अग्रता दोब्बर पारे । खेलको ८९ औँ मिनेटमा स्थानापन्न खेलाडी निको गोन्जालेजले तेस्रो गोल गरे । इन्जुरी समयमा बोर्नेमाउथका डेनियल जबिसनले सान्त्वना गोल गरे । सो खेलमा सिटीका कोभासिच र बार्नेमाउथका कुकले रातो कार्ड पाएका थिए ।

प्रिमियर लिगमै भएको अर्को खेलमा एफए कप विजेता क्रिस्टल प्यालेसले वोल्भ्सलाई ४–२ ले हरायो । विजयी टिमका लागि एनकेटियाले दुई गोल गरे । एजेन्सी