लामिछाने र जोशीको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा शुक्रबार पनि सुनुवाइ

काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार पनि सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ भइरहेको हो।

सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने र जोशीका तर्फबाट बिहीबार अधिवक्ताहरूले बहस गरिसकेका छन्। सरकारी वकिलहरूको बहस पनि बिहीबार नै सकिएको छ। अब शुक्रबार जाहेरवाला (पीडित) पक्षका वकिलहरूले बहस गर्नेछन्, त्यसपछि प्रतिउत्तर बहस हुनेछ।

यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालत बुटवलले जिल्लाको आदेशलाई उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।

लामिछानेले उच्च अदालतको सोही आदेशविरुद्ध पनि सर्वोच्चमा छुट्टै रिट दायर गरेका थिए, जसलाई बन्दीप्रत्यक्षीकरणको रिटसँगै राखेर इजलासले एकसाथ सुनुवाइ गरिरहेको छ। दुवै जना सहकारी ठगीको आरोपमा अनुसन्धानको क्रममा थुनामा छन्।