गैँडाकोटमा इभी हाइस दुर्घटना: १५ महिने बालकसहित ८ जना घाइते, २ को अवस्था गम्भीर
नवलपरासी , ८ असार । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आइतबार साँझ एक विद्युतीय सवारी (इभी) हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका–१० पितौजीमा पोखराबाट कपिलवस्तुको कृष्णनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा परी कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका बालक नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) भरतपुर पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अन्य ६ जना पनि घाइते भएका छन् । घाइते हुनेहरूमा:
कपिलवस्तुको मायादेवी गाउँपालिका–२ का २४ वर्षीय चालक विष्णु घर्ती
कृष्णनगर नगरपालिका–२ का २६ वर्षीय ऋषभ अग्रवाल
सोही ठाउँकी २५ वर्षीया रिद्धिसिंह सिंहनिया
२३ वर्षीया सेरी सिंह
२७ वर्षीया शिवानी अग्रवाल
३१ वर्षीय अरविन्द अग्रवाल
दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो । हाइसमा चालकसहित नौ जना सवार थिए । अस्थायी प्रहरी पोष्ट बेल्डियाले दुर्घटनाग्रस्त सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।