पूर्वअर्थमन्त्री पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरी नियन्त्रणमा
काठमाडाैं, ८ असार । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० बजे प्रहरीले नियन्त्रणमा लिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले उपाध्यक्ष पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकाे जानकारी दिनुभयो ।
पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको जनाइएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका-९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । उहाँलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।