जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

एजेन्सी, १५ जेठ । रुसको तीन वर्षे आक्रमण रोक्ने प्रयासस्वरूप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको प्रस्ताव गर्नुभएको छ ।

यसअघि रुसी राष्ट्रपति पुटिनले टर्कीमा जेलेन्स्कीसँग भेट्न अस्वीकार गर्दै क्रेमलिनले दुई नेताबीच कुनै ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भने युद्ध अन्त्यका लागि पुटिन र जेलेन्स्कीले सम्झौता नगरेकोमा निराशा व्यक्त गर्नुभएको छ ।

जेलेन्स्कीले बुधबार पत्रकारहरूसँग भन्नुभयो, “यदि पुटिन द्विपक्षीय बैठकमा सहज हुनुहुन्न वा सबैले त्रिपक्षीय चाहन्छन् भने मलाई आपत्ति छैन । म ‘ट्रम्प–पुटिन–म’ सहित कुनै पनि स्वरूपको बैठकका लागि तयार छु ।”

उहाँले वासिङ्टनलाई मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्ध लगाउन आग्रह गर्दै भन्नुभयो, “हामी अमेरिकाबाट प्रतिबन्धको प्रतीक्षामा छौं । यदि रुस रोकिएन भने प्रतिबन्ध लगाइनेछ भनेर ट्रम्पले पुष्टि गर्नुभएको छ । हामीले उहाँसँग ऊर्जा र बैंकिङ प्रणालीबारे छलफल गर्‍यौं । के अमेरिकाले यी क्षेत्रमा प्रतिबन्ध लगाउन सक्छ ? म त्यो धेरै चाहन्छु ।”

रुसले तत्काल युद्धविरामको पश्चिमी आह्वान अस्वीकार गर्दा मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा नगरिएकोमा जेलेन्स्कीले यसअघि वासिङ्टनप्रति निराशा व्यक्त गर्नुभएको थियो ।
जेलेन्स्कीको यो भनाइको केही घण्टापछि युक्रेनले रुसमाथि हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गर्‍यो । मस्कोको रक्षा मन्त्रालयका अनुसार देशमा करिब तीन सय ड्रोन प्रहार भएका थिए । रुसी अधिकारीहरूले आक्रमणबाट सामान्य क्षति मात्र भएको बताएका छन् ।

युद्धक्षेत्रको अवस्थाबारे उहाँले रुसले उत्तरपूर्वी सुमी सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सेना ‘जम्मा गरिरहेको’ बताउनुभयो । त्यहाँ मस्कोले युक्रेनी भूभागमा पुटिनले ‘बफर जोन’ भनेको स्थान स्थापना गर्न खोज्दै थुप्रै बस्ती कब्जा गरेको छ ।

जेलेन्स्कीले युक्रेनले शान्ति सम्झौताका लागि रुसबाट प्रतिज्ञा गरिएको ‘ज्ञापनपत्र’ अझै नपाएको पनि बताउनुभयो ।