हर्मुज जलमार्ग खुला गर्न युरोपेली देशहरू र इरानबीच वार्ता सुरु, अमेरिकाका लागि अझै बन्द
तेहरान, २ जेठ । सामरिक महत्त्वको जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य) बाट आफ्ना जहाजहरूको आवागमन पुनः सुचारु गर्न युरोपेली मुलुकहरूले इरानसँग औपचारिक वार्ता थालेका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार, युरोपेली प्रतिनिधिहरूले इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) को नौसेनासँग छलफल अघि बढाएका हुन्।
चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाली मुलुकका जहाजहरूले इरानको अनुमतिमा उक्त जलमार्ग पार गरेपछि युरोपेलीहरूले पनि सोही प्रक्रियाका लागि पहल थालेका हुन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानले यो महत्त्वपूर्ण जलमार्गमा कडा प्रतिबन्ध लगाएको थियो। अप्रिल ८ देखि युद्धविराम जारी भए पनि इरानले हर्मुजमा आफ्नो व्यवस्थापन र नियन्त्रणलाई झन् कडा बनाएको छ। इरानले आफ्ना बन्दरगाहमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीको जवाफमा हर्मुज जलमार्गलाई ‘हतियार’ को रूपमा प्रयोग गर्दै आफूले चाहेका जहाजलाई मात्र अनुमति दिने र अरूलाई रोक्ने नीति लिएको छ।
विश्वको कुल इन्धन र वस्तु ढुवानीको करिब २० प्रतिशत (पाँच भागको एक भाग) हिस्सा ओगट्ने यस मार्गमा भएको अवरोधले विश्व बजारलाई तहसनहस बनाएको छ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले इरानले जलडमरूमध्यमा आवागमन व्यवस्थापनका लागि एक ‘व्यावसायिक संयन्त्र’ तयार पारेको जानकारी दिनुभएको छ। उहाँका अनुसार इरानको व्यवस्थापन र कानुन पालना गर्ने व्यापारिक जहाजहरूले मात्र यो मार्ग प्रयोग गर्न पाउनेछन्।
“यो प्रक्रियामा इरानसँग सहकार्य गर्ने पक्षहरूले मात्र फाइदा लिन सक्नेछन्,” अजिजीले भन्नुभयो, “तर, अमेरिका नेतृत्वको ‘फ्रिडम प्रोजेक्ट’ मा आबद्ध जहाजहरूका लागि यो मार्ग अझै बन्द रहनेछ।” उहाँले अमेरिकी सैन्य अभियानको संरक्षणमा चल्ने जहाजहरूलाई कुनै पनि हालतमा मार्ग नदिइने स्पष्ट पार्नुभयो।
इरानले हालैका दिनहरूमा आफ्नो ‘हर्मुज स्ट्रेट व्यवस्थापन नियमावली’ मा सहमति जनाएका चीन लगायतका दर्जनौँ जहाजहरूलाई ओहोरोदोहोर गर्न अनुमति दिएको छ। साथै, इरानले यस मार्गबाट यात्रा गर्ने जहाजहरूबाट राजस्व (कर) उठाउन समेत सुरु गरेको छ। युद्ध सुरु भएयता इरानले यो मार्ग अब कहिल्यै ‘युद्धपूर्वको स्थिति’ मा नफर्कने चेतावनी दिँदै आएको छ।