पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई रु. २ करोड २२ लाख ७७ हजार पुरस्कार, खेल पूर्वाधारमा पनि प्रगति
काठमाडौँ, १५ जेठ । सरकारले विभिन्न खेल विधामा अन्तर्राष्ट्रिय स्तरका ८१ प्रतियोगिताहरूमा पदक जित्न सफल ५६ खेलाडी तथा प्रशिक्षकहरूलाई नगद पुरस्कार प्रदान गरेको छ । उनीहरूलाई कुल रु. दुई करोड २२ लाख ७७ हजार पुरस्कार रकम उपलब्ध गराइएको हो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज राष्ट्रियसभाको बैठकमा ‘आर्थिक सर्वेक्षण २०८२/८३’ पेस गर्ने क्रममा यस्ताे जानकारी दिनुभएको हो । आर्थिक सर्वेक्षणमा उक्त पुरस्कार रकम उपलब्ध गराइएको व्यहोरा उल्लेख छ ।
आर्थिक सर्वेक्षणअनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा राष्ट्रियस्तरका ४९ र अन्तर्राष्ट्रियस्तरका १३ गरी कुल ६२ वटा खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको छ । यसै अवधिमा नेपालले ७६ वटा विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सहभागिता जनाएको थियो । गत आर्थिक वर्षमा भने राष्ट्रियस्तरका ७० तथा अन्तर्राष्ट्रियस्तरका ३५ खेलकुद प्रतियोगिताहरू आयोजना भएका थिए ।
खेलकुद पूर्वाधार विकासतर्फ, प्रत्येक प्रदेशमा एक-एक वटा प्रदेशस्तरीय रङ्गशाला निर्माण गर्ने सरकारको कार्यक्रमअनुसार धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको पनि आर्थिक सर्वेक्षणमा जनाइएको छ ।