कुलेखानीको जलसतह बढेपछि देउराली–सिस्नेरी सडक ४ बजेदेखि बन्द

हेटौँडा, ११ असोज । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएपछि देउराली–सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।

जलाशयको सतह निरन्तर बढिरहेको अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसावधानीस्वरूप सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार सवारी सञ्चालन भइरहेका बेला चेतावनीको साइरन बजाउँदा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपरे सडकखण्डका केही स्थान जोखिममा पर्न सक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो।

सो अवधिमा भैँसे हुँदै देउराली–सिस्नेरीतर्फ जाने तथा काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन।

अत्यावश्यक रूपमा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। त्रिभुवन राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधका ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको स्पष्ट पार्नुभएको छ। जलाशय तथा तल्लो तटीय क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *