म्याग्दीसहित चार जिल्लाबाट सेनाले गर्यो बाढीपहिरो तथा डुबान प्रभावित ६८४ जनाको उद्धार
काठमाडौँ, ११ असार । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानमा परेका विभिन्न क्षेत्रबाट नेपाली सेनाले ६८४ जनाको उद्धार गरेको छ।
सेनाले पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरोका कारण फसेका ७८ जनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा लगिएको छ।
यस्तै, पर्वत, म्याग्दी र बागलुङका विभिन्न स्थानबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। पाल्पाको रामपुर नगरपालिका–४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि स्थानीयलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीको टापुमा फसेका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
यसैबीच, सेनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यमिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकाको सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा सैनिक हेलिकप्टरमार्फत ९७९ किलो राहत सामग्री ढुवानी गरेको जनाएको छ।
सेनाले डडेल्धुराको आलिताल गाउँपालिका–८ भगरियामा अवरुद्ध जोगबुडा–बुडर सडकखण्डको पहिरो हटाएर सञ्चालनमा ल्याएको छ। यस्तै, रौतहटको मौलापुर नगरपालिका–१ मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुत बनाइएको सेनाले जनाएको छ।
