स्कटल्यान्ड र नेदरल्यान्ड्सको चुनौती पार गर्ने लक्ष्यमा नेपाल
प्रणित शाक्य
काठमाडौँ, १९ जेठ । अन्तर्गत नेपालले सोमबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेलेर चौथो शृङ्खलाको सुरुआत गर्दैछ । सो शृङ्खलामा नेदरल्यान्ड्स पनि रहेको छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट पनि हो । करीब चार वर्ष चल्ने लिग २ शृङ्खलामा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समयअनुसार ३ः४५ मा हुनेछ ।
नेपाल पुछारमा
नेपाल करीब सात महिनापछि लिग २ मा फर्किएको हो । विश्वका उत्कृष्ट आठ एसोसिएट टिम सहभागी लिग २ मा नेपाल पुछारमा रहेको छ । नेपाल हाल १२ खेलबाट मात्र छ अङ्क बनाएर पुछारमा छ । नेपालले दुई खेलमा जित र आठमा हार वेहोरेको छ । दुई खेल अनिर्णित बनेका थिए । त्यसैले ग्लोबल छनोटमा चयन हुने अभियानमा आफूलाई टिकाइरहन नेपालले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स सामेल त्रिदेशीय शृङ्खलामा राम्रो नतिजा ल्याउन आवश्यक छ । २० खेल खेलेको नेदरल्यान्ड्स दोस्रो र १६ खेल खेलेको स्कटल्यान्ड चौथो स्थानमा छन् । नेदरल्यानड्स २६ र स्कटल्यान्ड २० अङ्कमा छन् ।
शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र सातौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) को १६ खेलबाट ६ अङ्क छ ।
हेड टु हेड सकारात्मक
स्कटल्यान्ड गत विजेता पनि हो । नेदरल्यान्ड्स एकदिवसीय अन्तर्राष्ट्रियको सुपर लिगबाट आएको टिम हो । त्यसैले नेपालका लागि यो शृङ्खला कठिन हुने अनुमान गरएको छ । यद्यपि यी दुई टिमविरुद्धको हेड टु हेड हेर्ने हो भने नेपाललाई पनि कम आँक्न मिल्दैन । स्कटल्यान्डविरुद्ध अहिलेसम्म भएका आठ एकदिवसीय खेलमा नेपाले चारमा र स्कटल्यान्डले तीनमा जित हासिल गरेका छन् । एक खेल भने रद्द भएको थियो । यसैगरी नेदरल्यान्ड्सविरुद्धको हेड टु हेडमा पनि पाँचमध्ये नेपालले दुई खेल जितेको छ । यसैगरी यस प्रतियोगतामा नेपालले अझै २४ खेल खेल्न बाँकी छ । नेपालभन्दा नेदरल्यानड्सले आठ र स्कटल्यानडले चार खेल बढी खेलिसकेको छ ।
लिगअघि अभ्यास खेल
लिग २ खेल्न करीब एक महिनाअघि नै स्कटल्यान्ड पुगेको नेपालले यहाँको वातावरण र पिचसँग अभ्यस्त हुन केही अभ्यास खेल पनि खेलेका छन् । नेपालले स्एकटल्यान्ड ए सँग दुई अभ्यास खेल पनि खेलेको थयो । त नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो । दोस्रो खेल भने वर्षाले रद्द भएको थियो । यद्यपि सो खेलमा नेपालले पानी पार्नुअघि टस जितेर पहिले ब्याटिङ गरेको ४५ ओभरमा नौ विकेथटको क्षतिमा २५३ रन बनाएको थियो । कप्तान रोहित पौडेल, गुलसन झा र भीम सार्कीले अर्धशतक बनाएका थिए । जुन यस शृङ्खला खेल्नुअघि नेपालका लागि सकारात्मक पक्ष भएको छ ।
प्रशिक्षक स्टुवार्ट ल को पहिलो शृङ्खला
नेपाली टोलीका लागि मुख्य प्रशिक्षक अस्ट्रेलियाली स्टुआर्ट लको यो पहिलो जिम्मेवारी पनि हो । मोन्टी देसाइको स्थान लिएका स्टवार्टले नेपाल पुग्ना साथ आफूलाई हार मन नपर्ने र हारप्रति घृणा नै भएको प्रतिक्रिया दिएका थिए । त्यसैले प्रशिक्षक स्टुवार्टले नेपाली टिमलाई कसरी तयार पारेका छ, त्यो पनि हेर्नलायक हुनेछ । यस शृङखलाअघि नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।
नेपाली टिमः
रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ । टोलीमा कप्तान रोहितसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल ।