अमेरिकाको भर्जिनियामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

काठमाडौं, २४ जेठ। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा दुई बालबालिकासहित एक नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्। यो दुःखद घटना भर्जिनियाको म्यानेसस पार्कस्थित एक घरमा भएको हो।

म्यानेसस पार्क प्रहरी विभागका अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक ८ वर्षीया बालिका र एक २ वर्षीय बालक रहेका छन्। उनीहरू एकै परिवारका सदस्य भएको अनुमान गरिए पनि प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।

प्रहरीका अनुसार, बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडावालहरूको सुरक्षा जाँच गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको तल्लो तलामा प्रवेश गर्दा उनीहरूले चारै जनालाई मृत अवस्थामा फेला पारेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सबैको मृत्यु गोली लागेर भएको देखाएको छ। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ। यो घटना हत्या हो वा आत्महत्या भन्नेबारे अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ।

हाल सबै शवलाई परीक्षणका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ र घटनाको थप अनुसन्धान जारी छ।