हर्मुज जलघाँटीमा अमेरिकी हवाई आक्रमण तीव्र, विश्व ऊर्जा सुरक्षा र कूटनीति सङ्कटमा

एजेन्सी, ३२ असार । संयुक्त राज्य अमेरिका र इरानबीच एक महिनाअघि भएको ‘अन्तरिम समझदारी’ भङ्ग भएसँगै मध्यपूर्वमा पुनः प्रत्यक्ष सैन्य मुठभेड सुरु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्ताको टेबुलमा फर्कन दिएको चेतावनीकै बीच बुधबारदेखि अमेरिकी सेनाले हर्मुज जलघाँटी क्षेत्रका इरानी सैन्य संरचनाहरूलाई लक्षित गरी नयाँ चरणको हवाई आक्रमण सुरु गरेको हो।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, नेपाली समय अनुसार बुधबार रातिदेखि सुरु भएको यस कारबाहीको मुख्य उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु र इरानी सैन्य क्षमतालाई कमजोर पार्नु हो।

कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोज्ने कुराकाओको झण्डावाहक तेल ट्याङ्कर ‘एम/टी बेल्मा’ लाई हेलफायर मिसाइल प्रहार गरी समुद्रको बीचमै निष्क्रिय बनाएको छ। यसलाई इरानको आर्थिक मेरुदण्डमा प्रहार गर्ने अमेरिकी रणनीतिको एक हिस्साका रूपमा हेरिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, चाबहार र बुसेहर लगायतका रणनीतिक क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटहरू भएको पुष्टि गरेका छन्। विशेष गरी बुसेहरमा रहेको इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र आसपास भएको आक्रमणले अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा चिन्ता बढाएको छ। दप्रतिवाद स्वरूप इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक फ्लीटलाई लक्षित गरी मिसाइल प्रहार गरेको छ। इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल जोर्डनले आफ्नो आकाशमै खसालेको छ भने इराकको एरबिल क्षेत्रमा अमेरिकी नेतृत्वको गठबन्धनले विस्फोटक पदार्थ बोकेका आठवटा इरानी ड्रोनहरू ध्वस्त पारेको छ।

अमेरिका र इरानबीचको यो सैन्य टकरावले कूटनीतिक संवादलाई लगभग ठप्प बनाएको छ। इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले सम्झौताका प्रावधानहरू पूर्ण कार्यान्वयन नभएसम्म वार्ताको कुनै अर्थ नरहने अडान राख्नुभएको छ। यता, राष्ट्रपति ट्रम्पले आगामी सातादेखि इरानका विद्युत् केन्द्र र पुल जस्ता नागरिक पूर्वाधारहरूमा समेत आक्रमण गर्ने चेतावनी दिँदै दबाब सिर्जना गरिरहनुभएको छ।

विश्वको कुल तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलमार्गमा भएको यो अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि ल्याएको छ। ‘केप्लर’ नामक समुद्री ट्र्याकरका अनुसार यस क्षेत्रबाट हुने जहाजहरूको आवागमनमा उल्लेखनीय गिरावट आएको छ।

युद्धको यो नयाँ शृङ्खलामा गत सातादेखि मात्रै कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ। इरान र खाडी क्षेत्रका सर्वसाधारणहरूमा निरन्तरको हवाई आक्रमण र मिसाइल चेतावनीले त्रासको वातावरण सिर्जना गरेको छ।