हिल्टन होटल प्रकरणमा सुजित केसीविरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्ने विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठनका संयोजक सुजित केसीविरुद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार केसीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। केसीले केही समयअघि फेसबुकमा जयवीरको फोटो राखेर ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन्’ भन्ने स्टाटस लेखेका थिए। उनले उक्त स्टाटस पछि हटाएका थिए।
यस विषयमा साइबर ब्युरोमा उजुरी परेपछि केसी जेठ २ गते पक्राउ परेका थिए। उनी एक साता हिरासतमा बसेपछि बन्दी प्रत्यक्षीकरण रिटमार्फत सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।
हिल्टन होटल खरिदको विषयमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटी ग्रुपले स्पष्ट खण्डन गर्दै होटल बिक्री नभएको र कुनै पनि राजनीतिज्ञसँग सम्बन्ध नरहेको विज्ञप्ति जारी गरेको छ। कम्पनीले हिल्टन होटलका संस्थापकहरू परिवर्तन नभएको र बिक्री प्रक्रिया कतै पनि नचलेको स्पष्ट पारेको छ ।
कम्पनीले भ्रामक र आधारहीन समाचार तथा सामाजिक सञ्जालमा आएका हल्लाले व्यवसाय र राजनीतिज्ञको छविमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ।
यस प्रकरणमा अन्य सञ्चारकर्मीविरुद्ध पनि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
