संसदीय गतिरोध अन्त्य गर्न सभामुखको पहल, रास्वपा र राप्रपासँग छलफल

काठमाडौँ, १ असार। सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल थाल्नुभएको छ। बजेटमाथिको छलफल सुरु गर्नैपर्ने संवैधानिक बाध्यताका बीच उहाँले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो।

सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँगको भेटमा बजेट पारित गर्नुपर्ने समयावधिको स्मरण गराउँदै अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गर्नुभयो। गत शुक्रबारको बैठकमा देखिएको अमर्यादित गतिविधिप्रति संकेत गर्दै सभामुखले सदनको मर्यादा कायम राख्न ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो।

जवाफमा कार्यवाहक सभापति अर्यालले आफ्ना माग पूरा नभएसम्म अवरोध जारी रहने तर त्यसलाई मर्यादित र शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यस्तै, सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि टेलिफोन गरी संसदको गतिरोध अन्त्यका लागि सहयोग गर्न अनुरोध गर्नुभयो। सभामुखको सचिवालयका अनुसार, उहाँले लिङ्देनलाई संवैधानिक बाध्यतालाई मनन गर्दै सदनभित्रै आफ्ना विषय राखेर कारबाही सञ्चालनमा सहयोगी भूमिका खेल्न आग्रह गर्नुभएको छ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण संसद्का महत्त्वपूर्ण कारबाहीहरू अघि बढ्न सकेका छैनन्। सभामुख घिमिरेले दलहरूबीच संवादमार्फत सहमति जुटाएर सदनको कारबाही सुचारु गराउन निरन्तर प्रयासरत हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *