अष्ट्रेलियामा सर्भर राखेर नेपालमा अर्बौंको कर छली, सञ्चालकसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ, १ असार । काठमाडौँको एक कुरियर कम्पनीले अष्ट्रेलियामा सर्भर सञ्चालन गरी नेपालमा अर्बौं रुपैयाँ बराबरको राजस्व छली गरेको तथ्य खुलेको छ ।

राजस्व अनुसन्धान विभागले काठमाडौँको तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका सञ्चालक तथा शेयरधनीविरुद्ध करिब १ अर्ब ३७ करोड रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार, कम्पनीले आफ्नो व्यावसायिक कारोबारको सर्भर अष्ट्रेलियामा राखेर नेपालको कर प्रशासनको निगरानीबाट बच्दै सेवा बिक्रीबाट प्राप्त वास्तविक आय लुकाएको थियो । आव २०७६/७७ देखि आव २०८१/८२ को फागुनसम्मको अनुसन्धानमा कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएको हो ।

विभागले कम्पनीका सञ्चालक तथा शेयरधनीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेललाई प्रतिवादी बनाएको छ ।

विभागले ६८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवानासहित कुल १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ असुल गर्न माग गरेको छ । साथै, आरोपीहरूलाई कैद सजायको पनि माग गरिएको छ ।

अनुसन्धानका क्रममा कम्पनीका मुख्य शेयरधनीहरू सुदीप आचार्य (५५.३३%) र जीवन ज्ञवाली (१६%) पटक-पटकको ताकेतामा समेत उपस्थित नभई फरार रहेको विभागले जनाएको छ । उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारको भूमिका खेलेको भन्दै उनलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।