“विकास सहायता राष्ट्रिय प्राथमिकतामा आधारित हुनुपर्छ”: स्पेनमा प्रधानमन्त्री ओलीको सम्बोधन
म्याड्रिड (स्पेन), १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विकास सहयोगलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले विकास सहायता दाताको इच्छामा नभई, सहायता प्राप्त गर्ने मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
स्पेनमा जारी संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी प्रधानमन्त्री ओलीले ‘अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ शीर्षकको एक उच्चस्तरीय बैठकलाई सह-अध्यक्षको रूपमा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अति कम विकसित, भूपरिवेष्ठित तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउनुको विकल्प नभएको बताउनुभयो। “दिगो विकास लक्ष्यहरू हासिल गर्न र कोभिड-१९ महामारी पछिको आर्थिक पुनरुत्थानका लागि एक बलियो र पुनर्जीवित विश्वव्यापी साझेदारी आवश्यक छ,” उहाँले भन्नुभयो।
बैठकमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू, मन्त्रीहरू, संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू र विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकमा प्रधानमन्त्री ओलीले नेपालले विकास लक्ष्य हासिल गर्न गरिरहेको प्रयास, चुनौती र वित्तीय आवश्यकताका बारेमा पनि प्रकाश पार्नुभएको थियो।
नेपालजस्ता अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेका देशहरूका लागि आफ्नो विकास एजेन्डा र वित्तीय आवश्यकता प्रस्तुत गर्न यो सम्मेलन एक महत्वपूर्ण मञ्च मानिएको छ।