रुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित सात जना घाइते

त्रिवेणी (रुकुम पश्चिम), २ साउन । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतु बजार नजिकै आज बिहान जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, खलङ्गातर्फ जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी ऋषि पाठकका अनुसार, जिप त्रिवेणी गाउँपालिका वडा नं. २ को बादँरपानी र रुघा हुँदै सदरमुकाम खलङ्गातर्फ जाँदै थियो । सिम्रुतु बजार नजिकैको भित्री सडकखण्डमा पुग्दा जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना हुँदा जिपमा चालकसहित १० जना यात्रु सवार थिए ।

घाइते हुनेहरूको विवरण:
दुर्घटनामा घाइते हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
चालक: ३२ वर्षीय प्रेम खड्का (त्रिवेणी–२, सिम्रुतु)
८४ वर्षीय ससे घर्ती (त्रिवेणी–१)
२० वर्षीया सरिता केसी (त्रिवेणी–१)
२८ वर्षीया सुनिता केसी (त्रिवेणी–२)
२२ वर्षीया गीता ओली (त्रिवेणी–२)
४० वर्षीया सपना परियार (मुसिकोट नगरपालिका–१३)
शिवकुमारी शर्मा (मुसिकोट–५)
दुर्घटनालगत्तै प्रहरीचौकी सिम्रुतुबाट खटिएको टोली र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । सबै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ ।

प्रहरी निरीक्षक पाठकले जानकारी दिएअनुसार, घाइतेहरूको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको छ । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।