बञ्चरेमा फोहरको चाप घटाउन काठमाडौँ महानगरले १० वटा वडामा थाल्याे स्रोतमै फोहर वर्गीकरण

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विसर्जन गरिने फोहरको मात्रा घटाउन आफ्ना १० वटा वडाहरूमा स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य सुरु गरेको छ। स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन सुरु भएपछि बञ्चरेडाँडा पठाइने फोहरको दैनिक परिमाणमा कमी आएको छ।

महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार स्रोतमै फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न थालिएपछि यसअघि दैनिक २० ट्रकसम्म फोहर बञ्चरेडाँडा पठाउने गरिएकोमा हाल त्यो सङ्ख्या घटेर दैनिक १५ ट्रकमा सीमित भएको छ। यसले बञ्चरेडाँडा ल्याण्डफिल साइटको आयु बढाउन मद्दत पुग्ने उहाँले बताउनुभयो।

हाल महानगरले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा यो व्यवस्थापन लागू गरेको छ। स्रोतमै फोहर वर्गीकरण सुरु भएपछि महानगरबाट दैनिक विसर्जन हुने फोहरमा करिब ३ दशमलव १९ मेट्रिक टन कमी आएको छ।

घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा (पुनः प्रयोग गर्न मिल्ने) फोहरलाई वर्गीकरण गरी संकलन र बिक्री गर्न महानगरले वैज्ञानिक विधि अपनाउने तयारी गरेको छ। यसका लागि ‘फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याइएको छ।

कार्यविधि अनुसार सार्वजनिक-निजी साझेदारी (पीपीपी) वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्का प्रक्रियामार्फत समुदायस्तरमै फोहरमैला सङ्कलन र ढुवानी गरी वर्गीकरण मार्फत विसर्जन गरिने फोहरको परिमाण घटाइने र पुनः प्रयोगलाई बढावा दिइने विभाग प्रमुख राईले जानकारी दिनुभयो।