“म आत्मालोचना गर्न तयार छु, तर अध्यक्ष ‘प्रचण्ड’ले पनि जिम्मेवारी लिनुपर्छ” : जनार्दन शर्मा

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको संकटको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुपर्ने शर्तसहित आफू आत्मालोचना गर्न तयार रहेको बताउनुभएको छ।

पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा बोल्दै उहाँले पार्टीको वर्तमान समस्या समाधानका लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्तावसमेत राख्नुभयो।

बैठकमा शर्माले आफू देश र जनताका लागि जुनसुकै त्याग गर्न तयार भए पनि समस्याको जड अध्यक्ष प्रचण्ड नै भएको संकेत गर्नुभयो। “अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ,” स्रोतले शर्माको भनाइ उद्धृत गर्दै भन्यो, “उहाँले पार्टीको निर्णयविपरीत सरकारको खेलमा लागेर सुशासनको अभियानलाई कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा तुहाउनुभयो।”
उपमहासचिव शर्माले पार्टी फुट्ने हल्लालाई अध्यक्ष प्रचण्डले नेता-कार्यकर्तालाई भ्रमित पार्न र मूल एजेन्डाबाट ध्यान मोड्न चलाएको ‘कसरत’ को संज्ञा दिनुभयो। उहाँले पार्टीका वैचारिक, राजनीतिक र संगठनात्मक संकट समाधान गर्न, प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई स्थापित गर्न ‘विशेष महाधिवेशन’ नै एकमात्र विकल्प भएको तर्क गर्नुभयो। “अब बहस खुल्ला गर्नुपर्छ,” उहाँले भन्नुभयो।

शर्माले पार्टी स्वचालित हुन नसक्नु, विधि र प्रणाली संकटमा पर्नु, तथा नयाँ संविधानअनुसार पुनर्संरचना हुनुको साटो केन्द्रीकृत मानसिकतामै चल्नु आजको मुख्य समस्या भएको निष्कर्ष सुनाउनुभयो।

शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकमा यसअघि बोल्ने अधिकांश नेताहरूले उपमहासचिव शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए। पछिल्लो समय अध्यक्ष प्रचण्ड र शर्माबीचको अन्तरविरोध सतहमा नै देखिएको छ, जसले पार्टी बैठकमा यो चर्को बहस निम्त्याएको हो।