उत्तराखण्ड बाढी: २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासद्वारा नामावली जारी

कठमाडाैं, २७ साउन । भारतको उत्तराखण्ड राज्यमा गत साउनमा आएको विनाशकारी बाढीमा परी २६ जना नेपाली नागरिक अझै सम्पर्कविहीन रहेका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै उनीहरूको नामावली सार्वजनिक गरेको हो।

दूतावासका अनुसार उत्तराखण्डको पौडी गढवाल जिल्लामा साउन २० र २१ गते आएको भीषण बाढी र पहिरोपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।

दूतावासले सार्वजनिक गरेको सूचीअनुसार सम्पर्कविहीन हुनेहरूमा ४५ वर्षीय जनकबहादुर शाही, ४० वर्षीय करण बहादुर, ६० वर्षीय लक्ष्मण, २५ वर्षीय रवि सिंह, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षीय रमेश र २२ वर्षीया प्रिया रहेका छन्।

त्यसैगरी, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का र निर्मला खड्का पनि बाढीपछि सम्पर्कमा आएका छैनन्। थर नखुलेका प्रभात र केशवको पनि खोजी भइरहेको दूतावासले जनाएको छ।

दूतावासले हराइरहेका नेपालीहरूको खोजी कार्य तथा अवस्थाबारे जानकारी लिन भारतीय स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ।