नेपालको लगातार दोस्रो हार

काठमाडौँ, साउन ३१ । टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल शनिबार बङगलादेश एसँग ३२ रनले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो पराजय हो । एक दिनअघि पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा भएको खेलमा पहिले ब्याटिङ गरेको बङगलादेश एले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १८६ रन बनाएको थियो ।

बङगलादेशका लागि प्रारम्भिक ब्याट्सम्यान जिसान अलाम ४६ बलमा चार चौका र पाँच छक्कासहति सर्वाधिक ७३ रन बनाए । अफिफ हुसेनले २३ बलमा नौ चौकासहित ४८ रन बनाएपछि बङलादेशले पालिको अन्त पनि शानदार तरिकाले गर्यो ।

नेपालका लागि तेज बलर रिजन ढकालले तीन ओभरमा ३४ रन खर्चेर सर्वाधिक दुई विकेट लिए । करण केसी नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिनुभयो ।

नेपालले जवाफमा सात विकेटको क्षतिमा १५४ रन मात्र बनाउनसक्यो । कुशल मल्लको अविजित ५९ रन बनाए पनि नेपाल लक्ष्यसम्म पुग्न सकेन । मल्लले ४७ बलको सामना गरेर छ चौका र एक छक्का हाने । यसैगरी नन्दन यादवले १४, प्रारम्भिक ब्याट्समयान कुशल भुर्तेलले ७, आसिफ शेखले २८, लोकेश बमले १५ तथा कप्तान रोहित पौडेलले १० रन बनाए । दिपेन्द्रसिंह एरी एक र गुलसन झा शुन्यमा आउट भए । यी दुवैलाई रकिबुल हसनले लगातार बलमा आउट गरे ।

बङगलादेशका लागि हसनले चार ओभरमा मात्र १८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।