हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ: इयुद्वारा दुई ठूला कार्यक्रम सञ्चालन

काठमाडौँ, ९ असार । नेपाल र दक्षिण एसियाली क्षेत्रको हवाई सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यका साथ काठमाडौँमा दुईवटा महत्त्वपूर्ण क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सुरु भएका छन्। युरोपेली सङ्घ (इयु) को अग्रसरतामा आयोजित यी कार्यक्रमहरूले काठमाडौँलाई दक्षिण एसियाको हवाई सुरक्षा संवाद र सहकार्यको केन्द्रका रूपमा स्थापित गरेका छन्।

इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजना (इयु–साउथ एसिया एभिएसन पार्टनरसिप प्रोजेक्ट) अन्तर्गत सञ्चालित यी कार्यक्रमहरूमा दक्षिण एसियाका हवाई नियामक निकाय, वायुसेवा कम्पनी र प्राविधिक विज्ञहरू सहभागी छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आयोजना र एटिआरसँगको सहकार्यमा सोमबारदेखि ‘क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम’ को तेस्रो मोड्युल सुरु भएको छ। असार ११ गतेसम्म चल्ने यस कार्यक्रममा उडान सञ्चालनका मानवीय पक्ष, चालक दलको तालिम, निर्णय प्रक्रिया र थकान व्यवस्थापन जस्ता प्राविधिक विषयमा गहन छलफल हुनेछ।

नेपालका लागि इयु प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख थोमस मिलारले हवाई सुरक्षा नेपालको प्राथमिकतामा रहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले हालैको बजेट वक्तव्यमार्फत नेपाल सरकारले युरोपेली आयोगका चासोहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको विषयलाई इयुले सकारात्मक रूपमा लिएको बताउनुभयो। “नेपालले पठाएको सुधारात्मक कार्ययोजना सम्बन्धी दस्तावेज हालै प्राप्त भएको छ,” मिलारले भन्नुभयो, “युरोपेली आयोगअन्तर्गतको महानिर्देशनालय (डिजी मुभ) ले आगामी महिना यसको समीक्षा गर्नेछ।” उहाँले नेपाली आकाशलाई सुरक्षित बनाउन र इयुको सुरक्षा सूची (ब्ल्याक लिस्ट) बाट हटाउन आवश्यक प्राविधिक सहयोग गर्न इयु प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो।

यसैगरी, असार १५ देखि १८ गतेसम्म काठमाडौँमा दक्षिण एसिया क्षेत्रीय पहल (सारी) अन्तर्गत ‘कन्टिन्युङ एयरवर्दिनेस’सम्बन्धी अर्को नियामकीय कार्यशाला आयोजना गरिनेछ। यसमा युरोपेली सङ्घीय हवाई सुरक्षा निकाय (इआसा) का पछिल्लो नियमावली र आधुनिक अनुगमन पद्धतिबारे छलफल हुनेछ।

यी कार्यक्रमहरूले दक्षिण एसियामा हवाई क्षेत्रको सुरक्षित र सबल प्रणाली निर्माण गर्न, पर्यटन प्रवर्द्धन गर्न र आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। इयु र इआसाको यो प्राविधिक सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपालको हवाई सुरक्षा स्तरलाई उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।