पीएल सिंह मेमोरियल टी–२० कप : पोखरा र वीरगन्जको सानदार जित
काठमाडौँ, असार ९ । राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ‘पीएल सिंह मेमोरियल अन्तरमहानगर टी-२० कप’ क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा पोखरा र वीरगन्ज महानगरपालिका विजयी भएका छन् । प्रतियोगिताको आठौँ खेलमा पोखराले भरतपुरलाई र नवौँ खेलमा वीरगन्जले विराटनगरलाई पराजित गरेका हुन् ।
पोखराद्वारा भरतपुर ६ विकेटले पराजित
सोमबार भएको पहिलो तथा प्रतियोगिताको आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको भरतपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो । भरतपुरका लागि ओपनर शुभ कंसाकारले ३० रन जोडे भने सूर्यन्शु कोइराला, गौतम केसी र योगेश बहादुर भाटले समान १७-१७ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका सुदिप अर्याल, अपराजित पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले समान २-२ विकेट लिए । १२४ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएर लक्ष्य पूरा गर्यो । पोखराको जितमा मुस्कान थापा मगरले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
विराटनगरमाथि वीरगन्जको ५८ रनको जित
त्यस्तै, नवौँ खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले स्तब्ध पारेको छ । टस जितेर ब्याटिङ रोजेको वीरगन्जले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । वीरगन्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले भने अनिल कुमार साहले १७ रन जोडे ।
विराटनगरका प्रतिक पोखरेल र दिपेश कँडेलले २–२ विकेट लिए । १३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १८ ओभरमा ७७ रनमै समेटिन पुग्यो । विराटनगरका लागि प्रेम कामत (२३) र दिपेश कँडेल (१५) बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ वीरगन्जका विशाल पटेलले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए भने पवन सर्राफले ३ विकेट चट्काए । ब्याटिङ र बलिङ दुवैमा चम्किएका सर्राफ ‘प्लेयर अफ दि म्याच’ चुनिए ।
प्रतियोगिताको पछिल्लो अवस्था र आगामी तालिका
यसअघि सम्पन्न छैटौँ खेलमा पोखराले काठमाडौँलाई ६ रनले र सातौँ खेलमा विराटनगरले ललितपुरलाई ८ विकेटले पराजित गरेका थिए । असार ५ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज गरी ६ वटा महानगरका टोलीहरू भिडिरहेका छन् । टोलीहरूमा राष्ट्रिय टिम, नेपाल ‘ए’, यू १९ र यू १६ का खेलाडीहरूको सहभागिता रहेको छ ।
मंगलबारको पहिलो खेल बिहान ९ बजे ललितपुर र वीरगन्जबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे भरतपुर र काठमाडौँ महानगरपालिकाबीच हुने आयोजकले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित यस प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट बलर, ब्याटर र प्लेयर अफ द टुर्नामेन्टलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।