एमाले हरेक धक्काबाट उठ्दै आएको छ, फेरि उठ्छौँ : महासचिव पोखरेल
सुर्खेत, ९ असार । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले इतिहासका हरेक कठिन परिस्थितिको सामना गर्दै पुनः उठ्न सफल भएको बताउनुभएको छ। नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई पुनः जनविश्वासको केन्द्र बनाइने दृढता व्यक्त गर्नुभयो।
महासचिव पोखरेलले पार्टीमा सङ्कट आउँदा जनताले नै संरक्षण गर्ने उल्लेख गर्दै नेता–कार्यकर्ताहरूलाई जनताका भावना, आवश्यकता र अपेक्षा बुझेर काम गर्न निर्देशन दिनुभयो। “हामी हरेक धक्काबाट उठेका छौँ र फेरि पनि उठ्नेछौँ,” उहाँले भन्नुभयो, “कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग मात्र छ।”
महासचिव पोखरेलले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रमहरू जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा कतिपय अवस्थामा भ्रम र गलत बुझाइ उत्पन्न भएको स्वीकार गर्नुभयो। उहाँले आजको मुख्य आवश्यकता जनतामा छाएको निराशालाई आशामा बदल्नु रहेको बताउनुभयो। त्यसका लागि पार्टीका विचार, नीति र कार्यक्रमलाई थप स्पष्ट र प्रभावकारी ढङ्गले जनतामा लैजानुपर्नेमा उहाँको जोड थियो।
एमाले कतिपय ठाउँमा कमजोर देखिनुको मुख्य कारण युवा पुस्तालाई पर्याप्त मात्रामा जोड्न नसक्नु रहेको महासचिव पोखरेलले औँल्याउनुभयो। अबको सङ्गठन सुदृढीकरण अभियानमा युवाहरूको सहभागिता र नेतृत्व विकासलाई पहिलो प्राथमिकतामा राखिने उहाँले जानकारी दिनुभयो।
कर्णाली प्रदेशका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा पार्टीको सङ्गठन सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशाका बारेमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रमले प्रदेशभरका कार्यकर्तामा नयाँ उत्साह थप्ने अपेक्षा एमालेले लिएको छ।