पहिरोले अवरुद्ध महाकाली राजमार्ग सुचारु

 

दार्चुला, २ भदौ । आइतबार रातिदेखि पहिरोले अवरुद्ध महाकाली राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण राजमार्गका दुई स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको थियो ।

राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ रनेबासमा पहिरो खसेको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, पहिरो पन्छाइएपछि आज बिहान ११ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

राजमार्ग सुचारु भएसँगै रोकिएका सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुलाले बीच बाटोमा अलपत्र परेका यात्रुहरू पनि गन्तव्यतर्फ प्रस्थान गरेको जनाएको छ ।