देशका १७ स्थानमा ‘धेरै भारी’ वर्षा, कास्कीको रिवनमा सबैभन्दा बढी

काठमाडौं , ६ भदाै । पछिल्लो २४ घण्टामा देशभर मनसुन सक्रिय हुँदा १७ स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा धेरै पानी कास्कीको रिवनमा १४८.८ मिलिमिटर परेको छ, जसलाई मौसम विज्ञानको भाषामा ‘धेरै भारी’ वर्षा मानिन्छ।

महाशाखाको तथ्यांकअनुसार, कास्कीका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको छ। रिवनसँगै यमजाकोटमा १३१.१ मिमि, घलेखर्कमा १२९ मिमि, पोखरामा १०५.२ मिमि र लुम्लेमा १०२.८ मिमि पानी परेको छ।

त्यस्तै, देशका अन्य स्थानमा पनि ‘धेरै भारी’ वर्षा मापन भएको छ। रूकुम पूर्वको बाफीकोटमा १४६.८ मिमि, रूपन्देहीको लुम्बिनीमा १४१.८ मिमि, पाल्पाको हात्तीलुङमा ११६.६ मिमि र जाल्पामा ११५.६ मिमि वर्षा भएको छ।

अन्य स्थानहरुमा लमजुङको भूजुङमा ११०.८ मिमि, गोरखाको बारपाकमा १०३.४ मिमि, सिन्धुपाल्चोकको बोल्डेमा १०५.२ मिमि, रूपन्देहीको तिलोत्तमामा ११२.४ मिमि, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को देउरालीमा १०२ मिमि, परासीमा १००.२ मिमि र भैरहवामा १०३.२ मिमि वर्षा रेकर्ड गरिएको छ।

यी स्थानहरूबाहेक कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा ५० देखि १०० मिलिमिटरसम्मको ‘भारी’ वर्षा भएको छ। तर, केही समयअघि सुख्खाग्रस्त घोषणा भएको मधेश प्रदेशमा भने हल्का वर्षा मात्र भएको महाशाखाले जनाएको छ।

आजको मौसम कस्तो रहन्छ?

हाल नेपालमा मनसुनको प्रभाव सक्रिय रहेको र मनसुनी न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेकाले वर्षाको यो क्रम जारी रहेको हो। महाशाखाले आज (शुक्रबार) दिउँसो र रातिको मौसम पूर्वानुमान पनि जारी गरेको छ।

  • दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा हुन सक्छ।

  • राति: देशका पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।