एक करोड पुरस्कार राशिको ‘मेरो भ्वाइस र डान्स युनिर्भस’का लागि आज अन्तिम प्रतिस्पर्धा
काठमाडौँ, भदौ ७ । नेपाली रियालिटी शोको इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि भएको ‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ को दोस्रो संस्करणको आज ‘ग्राण्ड फिनाले’ हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भव्य समारोहमा गायन र नृत्यका उत्कृष्ट प्रतिभाहरू बिच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
आयोजक इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अनुसार, विश्वभर छरिएर रहेका नेपाली भाषी प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता तीन महिनासम्म चलेको थियो ।
को-को छन् अन्तिम प्रतिस्पर्धामा?
‘मेरो भ्वाइस युनिर्भस’तर्फ विश्वका विभिन्न कुनाबाट छानिएका ६ जना फाइनलमा पुगेका छन् । जसमा सिक्किमबाट दीपराज राई, दार्जिलिङबाट वाङेगे शेर्पा, कतारबाट जुनु प्रसाईं, जापानबाट प्रथम गुरुङ, हङकङबाट टपराज तामाङ र नेपालको झापाबाट प्रशान्त पोखरेलबीच उपाधिका लागि भिडन्त हुनेछ ।
त्यसैगरी, ‘मेरो डान्स युनिर्भस’तर्फ सिक्किमकी अमृता राई, हङकङकी रिस्ता गुरुङ तथा नेपालका सुशना कोइराला, सीतु महर्जन, सुरज सिञ्जाली मगर र साजन पाख्रिनले अन्तिम प्रतिस्पर्धामा आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।
विजेताले के पाउँछन्?
दुवै विधाका प्रमुख विजेताले जनही नगद १ करोड रुपियाँको ऐतिहासिक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले २५ लाख रुपियाँ र तेस्रो हुनेले १० लाख रुपियाँ पाउनेछन् । चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ६ लाख, ५ लाख र ४ लाख रुपियाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट १० मा पुग्न सफल प्रतियोगीहरूले यसअघि नै ३ लाख रुपियाँ पाइसकेका छन् ।