विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित : अर्को बैठक बिहीबार बस्ने

काठमाडौँ, वैशाख ३० । प्रमुख विपक्षी दलहरूको लगातारको अवरोधका कारण आइतबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबार तीन पटकसम्म बैठक आह्वान गरिए तापनि विपक्षी दलहरूको अडान र विरोधका कारण सदन सुचारु हुन नसकेपछि बैठक आगामी बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सदनमा उपस्थितिको माग गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए । विपक्षीले प्रधानमन्त्रीको उपस्थिति र सो सम्बन्धमा सभामुखबाट ‘रुलिङ’ को माग गर्दै नाराबाजी गरेपछि बैठकमा गतिरोध उत्पन्न भएको थियो । पटक-पटकको प्रयास गर्दा पनि सदनमा सहमति नजुटेपछि सभामुख अर्यालले अर्को बैठक आगामी जेठ ३ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो ।

आइतबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने मुख्य कार्यसूची तय गरिएको थियो । तर, सदनमा जारी अवरोधका कारण उक्त महत्त्वपूर्ण छलफल प्रभावित भएको छ ।