उदयपुरमा भाइरल ज्वरोको प्रकोप: अस्पतालहरूमा बिरामीको चाप, शय्या अभाव
उदयपुर, ८ भदौ । लगातारको वर्षा र दूषित पानीका कारण उदयपुरको त्रियुगा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। साउन अन्तिम सातादेखि देखिएको प्रकोपले अहिले महामारीको रूप लिन थालेपछि जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप थेगिनसक्नु भएको छ।
जिल्ला अस्पताल, उदयपुरका अनुसार हाल दैनिक ४५० देखि ५०० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आइरहेका छन्। अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि आकस्मिक कक्षदेखि बहिरंग विभाग (ओपिडी) सम्म खचाखच भरिएको र शय्या अभावमा उपचार व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको बताउनुभयो।
अस्पतालका प्रमुख डा. वीरेन्द्र मण्डलले निरन्तरको वर्षाले खानेपानीका मुहान र जमिनको पानी प्रदूषित हुँदा भाइरल ज्वरो फैलिएको बताउनुभयो। उहाँले पानी उमालेर पिउन र सरसफाइमा विशेष ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ।
प्रकोपले विशेषगरी त्रियुगा नगरपालिकाका जोगीदह, मोतिगडा, खैजनपुर, चुहाडे, राजाबास, असारी र गाईघाट बजार क्षेत्रलाई बढी प्रभावित पारेको छ। त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईका अनुसार ज्वरोले विद्यालय जाने उमेरका बालबालिकासमेत प्रभावित भएका छन्।
त्यसैगरी, बेलका नगरपालिकाका भागलपुर, आम्बासी, तपेस्वरी र चौदण्डीगढी नगरपालिकाका हँडिया, सुन्दरपुर लगायतका क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। जिल्ला अस्पतालका अतिरिक्त स्थानीय निजी क्लिनिक तथा स्वास्थ्य चौकीहरूमा पनि बिरामीको भीड बढेको छ।