सरकारकाे अनुदान उखु किसानको बैंक खातामा, किसानभने आन्दोलनमा

काठमाडौँ, ११ भदाै । सरकारले लामो समयदेखि रोकिएको उखु किसानको अनुदान रकम निकासा गरे पनि किसानहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।

यस वर्ष अनुदानको रकम आधा घटाइएकोमा असन्तुष्टि जनाउँदै उनीहरू काठमाडौँमा प्रदर्शनरत छन्। अर्थ मन्त्रालयले किसानका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। उक्त रकम बिहीबारसम्ममा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सिधै किसानको बैंक खातामा जम्मा हुनेछ।

तर, किसानहरूको मुख्य माग अनुदान रकम पुरानै कायम हुनुपर्ने भन्ने छ। यसअघि प्रतिक्विन्टल रु. ७० पाउँदै आएकोमा यसपटक सरकारले देशको आर्थिक अवस्था देखाउँदै त्यसलाई घटाएर रु. ३५ मात्रै दिने निर्णय गरेको थियो। कृषि मन्त्रालयले पुरानै दरमा अनुदान दिन प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले रकम घटाउने निर्णय गरेपछि किसानहरू रुष्ट बनेका हुन्।

यसैबीच, सरकार र आन्दोलनरत किसानबीच वार्ता सुरु भएको छ। कृषि मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह नेतृत्वको टोली र किसानका तर्फबाट श्यामबाबु रायलगायतका प्रतिनिधि सहभागी छन्।