बार्सिलोनालाई भालेकानोले बराबरीमा रोक्यो

बर्सिलोना, भदौ १६ गते । स्पेनी लिगमा आइतबार राति बार्सिलोनालाई रायो भालेकानोले १–१ को बराबरीमा रोकेको छ । यस सत्रमा बार्सिलोनाले पहिलो पटक अङ्क गुमाएको हो । यसअघि, बार्सिलोनाले मायोर्का र लाभान्टेलाई पराजित गरेको थियो ।

खेलको ४० औँ मिनेटमा १८ वर्षीय सुपरस्टार लामिने यमालले पेनाल्टीमा गोल गरी बार्सिलोनालाई अगाडी पारेका थिए । सो पेनाल्टी यमालले नै जितेका हुन् । खेलको ६७ औँ मिनेटमा फान पेरेजले सशक्त प्रहारमार्फत गरेको गोलबाट भालेकानोले खेल बराबर गर्यो ।

अन्य खेलमा एथलेटको बिल्बाओले रियल बेटिसलाई २–१ त्था इस्पानियोलले ओसासुनालाई १–० ले हराए । सेल्टा भिगो र भिलारियलबिचको खेल १–१ ले बराबरीमा सकियो ।