२ वर्षभित्र ३६ प्रकारका औषधि नेपालमै उत्पादन गर्ने मन्त्रालय र लिमिटेडबीच समझदारी

काठमाडौँ, २ साउन । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई मुलुकमा अत्यावश्यक औषधिमा आत्मनिर्भर बनाउन सरकारले रणनीतिक पहल सुरु गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच आगामी दुई वर्षभित्र उत्पादनको दायरा विस्तार गरी ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने गरी द्विपक्षीय समझदारीको प्रक्रिया अघि बढाइएको हो।

हाल लिमिटेडले जम्मा ११ प्रकारका आधारभूत औषधिहरू मात्र उत्पादन गर्दै आएको छ। प्रस्तावित योजना अनुसार अब लिमिटेडले उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने तथा दीर्घरोगका औषधिहरू समेत उत्पादन गर्नेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण र आधुनिक प्रविधि जडानको कार्यलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्ने र सरकारी स्वास्थ्य संस्थाहरूमा औषधिको आपूर्ति गर्दा ‘नेपाल औषधि लिमिटेड’ का उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ।

यो समझदारी कार्यान्वयनमा आएपछि मन्त्रालय र लिमिटेडबीच एक एकीकृत र संस्थागत प्रणालीमार्फत औषधिको खरिद–बिक्री हुनेछ। यसले एकातिर सरकारी खरिद प्रक्रियालाई झन्झटमुक्त र पारदर्शी बनाउनेछ भने अर्कोतिर राज्यको लगानी रहेको उद्योगका लागि सुनिश्चित बजार र दिगो आर्थिक स्रोतको ग्यारेन्टी गर्नेछ।

लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *