‘लेबल’ नभएका र गुणस्तरहीन जुत्ताचप्पल बिक्री नगर्न विभागको निर्देशन

काठमाडौँ, साउन २ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेबल’ नभएका, नक्कली तथा न्यून गुणस्तरका जुत्ताचप्पल (फुटवेयर) बिक्री वितरण नगर्न कडा निर्देशन दिएको छ ।

पछिल्लो समय बजारमा भौतिक पसलहरूका साथै डिजिटल प्लेटफर्म (अनलाइन) मार्फत समेत मापदण्ड विपरीतका र चोरी पैठारी गरिएका जुत्ताचप्पल बिक्री भइरहेको उजुरी प्राप्त भएपछि विभागले यस्तो आग्रह गरेको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को कानुनी व्यवस्थाबारे स्मरण गराउँदै उत्पादक, पैठारीकर्ता र बिक्रेतालाई आ-आफ्नो जिम्मेवारी पूरा गर्न सचेत गराएको छ । ऐनको दफा ६ अनुसार उत्पादकले अनिवार्य रूपमा वस्तुमा लेबल लगाउनुपर्ने, दफा ८ अनुसार पैठारीकर्ताले कानुनी सर्तहरू पूरा गर्नुपर्ने र दफा ११ अनुसार बिक्रेताले गुणस्तरीय वस्तु मात्र बिक्री गर्नुपर्ने दायित्व रहेको विभागले उल्लेख गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई प्रचलित कानुन र सर्तहरूको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सूचित गरेको छ । यदि कानुन विपरीतका कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन बमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।