उपत्यका प्रहरीले जारी गर्याे अनाैठाे निर्देशन, बिहान बेलुकी कुकरमा सिठ्ठी नलाउनु, नखाेक्नु

काठमाडौं, १९ भदाै । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियानअन्तर्गत शहरवासीका लागि ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी अनौठो निर्देशन जारी गरेको छ।

प्रहरीले ठूलो आवाज उत्पन्न गर्ने क्रियाकलापहरू नगर्न आग्रह गरेको हो। कार्यालयका अनुसार विभिन्न मानवीय गतिविधिबाट उत्पन्न हुने ध्वनि प्रदूषणले गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धालाई नकारात्मक असर पार्ने बताएको छ। ध्वनि र प्रदूषण नियन्त्रणका लागि पाँच मुख्य शीर्षक र विभिन्न उपशीर्षकहरूमा प्रहरीले सल्लाहहरू दिएको छ।

‘राति अनावश्यक आवाज नगर्ने’ शीर्षकमा फोन कल गर्दा हेडफोन प्रयोग गर्न वा सन्देशमार्फत कुराकानी गर्न सुझाव दिइएको छ। ढिलोसम्म ठूलो स्वरले गफ नगर्न, भान्सामा भाँडाकुँडाको चर्को आवाज ननिकाल्न, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्न, तथा अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्नजस्ता सुझावहरू समावेश छन्।

त्यस्तै, ‘बिहानको शान्ति कायम राखौँ’ शीर्षकअन्तर्गत बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ। गेट खोल्दा आवाज कम गर्न, तथा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न पनि कार्यालयले सुझाव दिएको छ।

यसैगरी, राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन र राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्टी नलगाउन पनि आग्रह गरिएको छ। कार्यालयले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने जानकारी पनि दिएको छ।