एमालेको ऐतिहासिक दोस्रो विधान महाधिवेशन आजदेखि, केके हुनेछ महाधिवेशनमा ?
काठमाडाैं, २० भदाै । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नसहसने विधान महाधिवेशन आइतबारसम्म चल्नेछ।नेकपा एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्न अभ्यास सुरू गरेको हो।
यो ऐतिहासिक विधान महाधिवेशनले आगामी ११ औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा गर्नेछ।
शुक्रबार बिहान ११ बजे विधान महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रभानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । उपाध्यक्ष विष्णु पौडेलले भने विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेकाे छ ।
उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र आरम्भ हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे, उहाँकाअनुसार शुक्रबारै दस्तावेजहरू प्रस्तुत हुनेछन्। त्यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन्।
शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ। आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नुहुनेछ ।
नेतृत्वले त्यसमाथि जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ।
विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ। आगामी महाधिवेशनको नेतृत्व चयन त्यसैले गर्नेछ।
निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सकिनेछ।
यो विधान महाधिवेशनमा कुल २३४१ सहभागी हुनुहुनेछन्। जसमध्ये २०२६ जना प्रतिनिधि हुन् भने ३१५ जना आयोजकको हैसियतमा सहभागी हुनुहुनेछन्।
विधान महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको छ। प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको छ। सातदोबाटोदेखि गोदावरीसम्मको दूरीमा देखिएको साजसज्जाका कारण हरेक मानिसले एमालेले गोदावरीमा निकै भव्य कार्यक्रमको आयोजना गर्दैछ भन्ने झल्को दिएकाे छ । गोदावरी पुग्ने मुख्य सडकका ठाउँठाउँमा स्वागतद्वार पनि निर्माण गरिएको छ।
प्रतिनिधिहरूलाई यसपटक आवासको सुविधा छैन। महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको प्रबन्ध भने गरिएको एमालेले जनाएको छ।