असनको मौलिकता जोगाउन ‘भेहिकल फ्रि असन’ अभियान सुरु, अब हरेक शनिबार सवारीसाधन निषेध

काठमाडौँ,  वैशाख ५ । काठमाडौँ महानगरपालिकाले प्राचीन ऐतिहासिक तथा व्यापारिक केन्द्र असनको मौलिकता जोगाउन र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्न आजदेखि ‘भेहिकल फ्रि असन’ (सवारीसाधन मुक्त असन) कार्यक्रमको शुभारम्भ गरेको छ ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार यो अभियान कःमिलाछी (कमलाक्षी) चोक, भोटाहिटी र महाबौद्धबाट असन प्रवेश गर्ने क्षेत्रहरूमा लागू हुनेछ । अबदेखि प्रत्येक शनिबार यी क्षेत्रमा सवारीसाधनको प्रवेशलाई पूर्ण रूपमा निषेध गरी पैदल यात्रीमैत्री बनाइनेछ ।

महानगरले आफ्नो प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि निरन्तर काम गरिरहेको सन्दर्भमा यो कार्यक्रम ल्याइएको हो । यसले काठमाडौँको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली, जात्रा र पर्वहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज हुने अपेक्षा महानगरको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले अत्यधिक सवारी चापका कारण भित्री सहरको मौलिक स्वरूप र व्यवस्थापनमा चुनौती थपिएकाले यो कदम चालिएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारका दिन असन क्षेत्रमा सवारी रोकेर त्यहाँको रैथाने ज्ञान, सीप, कला, संस्कृति, गायन तथा नृत्यजस्ता परम्परागत गतिविधिहरू प्रदर्शन गरिनेछ । यसबाट स्थानीय व्यापारिक क्रियाकलाप र धार्मिक-सांस्कृतिक पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

ट्राफिक व्यवस्थापन र वैकल्पिक मार्ग
कार्यक्रम सञ्चालन अवधिभर जमलतर्फको कःमिलाछी सिंह ढोका, भोटाहिटी कलश ढोका, वीर अस्पतालबाट महाबौद्धतर्फ, वटु गणेश, इन्द्रचोक र न्हकेटला लगायतका नाकाहरूबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन । यस्तै, मच्छिन्द्र वहाल र मांस गल्लीबाट मोटरसाइकलको प्रवेशमा समेत रोक लगाइएको छ ।

महानगरले असन भ्रमणमा आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा तोकिएका अन्य स्थानमा सवारी साधन पार्किङ गरेर पैदल यात्रा गर्न आग्रह गरेको छ ।