हेटौँडामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

काठमाडौँ, बैशख ५ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ स्थित भक्तिचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

 शुक्रबार साँझ भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बागमती गाउँपालिका-७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेका छन् । बा प्र ०३-००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हेटौँडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३-००५ प ७२१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरूमा बागमती गाउँपालिका-६ का ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा-१८ का ३५ वर्षीय राजु थिङ, ३८ वर्षीय सूर्यमणि खतिवडा (चालक) र १२ वर्षीय प्रशान्त वाइबा रहेका छन् । घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।