कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु

काठमाडाैं, २६ भदौ । रामेछापमा कैदीबन्दीले कारागारकाे ताला फाेडेर भाग्न खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिन गाेली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदीबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएकाे हाे ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेनाले नियन्त्रणमा लिन खाेज्दा झडपकाे स्थिती आएपछि गाेली चलाउँदा २ जनाको मृत्यु भएको जानकारी दिए ।

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।