हामीले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेका छौँः महानगर प्रहरी प्रमुख जोशी

काठमाडौं, ३० असार । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेको जानकारी दिएको छ । नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी सो जानकारी दिनुभएको हो ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा उहाँको मृत्यु भएको थियो ।

नेपालीको मृत्यु प्रकरणपछि सडकमा नगर प्रहरीको उपस्थिति नदेखिएको र अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको भन्ने गुनासो आइहरेका बेला जोशीले यस्तो जानकारी दिनुभएको हो ।

‘रिर्जभ फोर्स बाहेकका नगरप्रहरीलाई हामीले नियमित रुपमा ड्युटिमा खटाएका छौँ,’ उहाँले भन्नुभयो, ‘नहुनु पर्ने अप्रिय घटना भयो । हामी त्यसप्रति स्तव्ध छौँ । हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गर्छौ । यद्यपि, नगरवासीको सेवामा खट्नु पर्ने हाम्रो दायित्व हो । स्थानीय र आममहानगरवासीको भावनाको कदर गर्दै सहरी सुव्यस्था कायम गर्न हामी कटिवदद्ध भएर लाग्छौँ । हामी हाम्रो दायित्वबाट बञ्चित हुँदैनौँ । हामीले अहिले नियमित रुपमा नगरप्रहरीलाई फिल्डमा परिचालन गरिसकेका छौँ ।’

नेपालीको मृत्युपछि उहाँ र उहाँको परिवारलाई महानगरपालिकाले नियम–कानुनको परिधि भित्र रहेर दिनुपर्ने न्यायका लागि कटिवद्ध भएर निरन्तर लागि रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हामी आन्तरिक विषयलाई न्यायोचित ढंगले समाधान गर्दै अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘तर, बजार तथा सवारी पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने, विपद व्यवस्थापनसम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी कार्य गर्ने जस्ता महानगर प्रहरीको काम, कर्तव्य र अधिकार क्षेत्रलाई आत्मसाथ गर्दै नियमको पालनासहित जनसेवामा हामी निरन्तर समर्पित रहिआएका छौँ र निरन्तर रहिरने छौँ ।’

उहाँले वर्खासँगै बाढी, ढुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले नगरप्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको पनि जानकारी दिनुभयो । अहिले न्युरोडलगायतका क्षेत्रमा नगरप्रहरी नियमित ड्युटिमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।