फर्किए आठ हजारभन्दा बढी कैदीबन्दी कारागार, छ हजार ४९४ कैदीबन्दी फरार

काठमाडौँ, १० असोज । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् ।

फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उहाँका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् ।

फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ ।