चौधरी ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारका प्रत्येक एकलाई रोजगारी दिने

काठमाडौं, २२ असोज । चौधरी ग्रुप (सीजी) ले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो घोषणा गरेका हुन् ।

प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सीजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ ।

प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पुर्‍याइएको थियो ।

जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।

सीजीका अनुसार काठमाडौं सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।

राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको थियाे भने सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको थियाे ।