मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको ‘हाइअलर्ट’: ५४ अस्थायी वेश र ८ हजार जनशक्ति परिचालन

काठमाडौँ, ११ असार । मनसुन सुरु भएसँगै देशभर हुनसक्ने बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्को जोखिमलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता बढाएको छ। सम्भावित विपद्जन्य घटनामा तत्काल रेस्पोन्स गर्न सशस्त्रले देशभरका ५४ रणनीतिक स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरेको छ।

विपद्का बेला स्थायी कार्यालयबाट घटनास्थलसम्म पुग्न समय लाग्ने भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सशस्त्रले जोखिमयुक्त क्षेत्र पहिचान गरी यी वेशहरू खडा गरेको हो। सशस्त्र प्रहरीका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १६ वटा अस्थायी वेश स्थापना गरिएका छन्। यस्तै: मधेस प्रदेशमा ११, सुदूरपश्चिम प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ७, कोशी प्रदेशमा ६, गण्डकी प्रदेशमा ४ र
कर्णाली प्रदेशमा २ रहेका छन् । यसबाहेक धनकुटा, सुनसरी, बारा, धादिङ, काभ्रे, सुर्खेत र कैलालीसहित १६ जिल्लामा सशस्त्रका स्थायी विपद् व्यवस्थापन वेशहरू वर्षैभरि क्रियाशील रहने प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।

विपद् प्रतिकार्यका लागि सशस्त्रले ८ हजार १८० जना कर्मचारीलाई २४ सै घण्टा ‘स्ट्यान्डबाइ’ राखेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन १३४ जना दक्ष गोताखोर र ४ हजार ७१० जना विशिष्टीकृत तालिमप्राप्त जनशक्तिलाई उपकरणसहित परिचालन गरिएको छ। बाढी र डुबानमा परेकाहरूको उद्धारका लागि देशभर ८२ वटा ‘र्याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यस वर्षको मनसुनमा देशभरका करिब ५१ हजार ८८६ घरधुरीका २ लाख २६ हजारभन्दा बढी मानिस प्रभावित हुन सक्छन्। लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।

विपद्को सूचना तत्काल प्राप्त गर्न सशस्त्र प्रहरीले देशैभर १ लाख ६८ हजार ९५६ जनाको ‘विपद् सूचक सञ्जाल’ तयार पारेको छ। गाउँ-गाउँमा रहेका यी सूचकहरूले घटना हुनेबित्तिकै नजिकको सशस्त्र युनिटलाई जानकारी गराउनेछन्। यस्तै, सूचना प्रवाहलाई थप आधुनिक बनाउन ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत बाहिनी तहको परिचालन कक्षमा तत्काल सूचना पुग्ने र उद्धार टोली शीघ्र परिचालन हुने व्यवस्था मिलाइएको छ।