नेप्सेमा निरन्तर ओरालो, कारोबार रकम ३ अर्ब मुनि खुम्चियो
काठमाडौँ, ११ असार । नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार पनि मन्दी छाएको छ । पछिल्ला चार कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले यस दिन पनि सोही लयलाई पछ्याउँदा लगानीकर्तामा निराशा देखिएको छ।
बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ०.६४ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.४१ र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.२३ अंकको गिरावट देखिएको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बिहीबार उक्त रकम १ अर्ब ५७ करोडले खुम्चिएर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। दिनभर ३३८ कम्पनीका ६४ लाख ८० हजार कित्ता सेयर ४६ हजार ७५१ पटक किनबेच भएका छन्।
बजार राताम्मे देखिए पनि दुई जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, कालिका लघुवित्तको सेयर मूल्य करिब १३ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा ११.०३ प्रतिशतको पहिरो गएको छ।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स अग्रस्थानमा रह्यो। यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य अंकले बढेको छ। बाँकी १२ वटा उपसमूहको परिसूचक घटेर बजार बन्द भएको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ।