रास्वपा महाधिवेशन: १३ सय ५२ जना प्रतिनिधिले हालेनन् भोट
चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भएको पहिलो चरणको मतदान सम्पन्न भएको छ। विद्युतीय माध्यमबाट गरिएको मतदानमा कुल मतदातामध्ये करिब ६८ प्रतिशतले मात्रै भाग लिएका छन्।
विद्युतीय भोटिङ सेवा प्रदायक ‘रामलक्ष्मण इनोभेसन’ का रामप्रसाद रिमालका अनुसार कुल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्रै मतदान गरेका छन्। निर्वाचनमा १ हजार ३५२ जना प्रतिनिधि अनुपस्थित रहेका छन्।
महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त भएको र निर्वाचन प्रक्रियामा अत्यधिक ढिलाइ भएका कारण ठुलो सङ्ख्यामा प्रतिनिधिहरू मतदान नगरी घर फर्किएको रास्वपाका एक नेताले बताएका छन्। बिहानैदेखि मतदान हुने अपेक्षा गरिए पनि प्रक्रिया ढिलो सुरु हुँदा टाढाबाट आएका प्रतिनिधिहरूमा निराशा देखिएको थियो।
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। पहिलो चरणको यो मतदानबाट ९९ जना केन्द्रीय सदस्य चुनिएपछि दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएको छ।